सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति जंगली हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६, वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए । सोही क्रममा हात्तीले उनलाई आक्रमण गरेको थियो ।
घटनाका बेला श्रेष्ठका छोरा अर्जुन पनि सँगै रहेका थिए । हात्तीको आक्रमणबाट बच्न उनी भागेका कारण सकुशल ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
पछिल्लो एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । हात्तीको बथान बस्तीमै पस्न थालेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ भने मानवीय क्षतिको जोखिमसमेत बढेको छ ।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सप्तरीकै सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।
लगातार हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि स्थानीय बासिन्दाले सुरक्षाको चिन्ता व्यक्त गरेका छन् । बस्तीमा हात्तीको आवागमन बढ्दै जाँदा थप मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले आवश्यक सतर्कता र सुरक्षा व्यवस्था अपनाउनुपर्ने देखिएको छ ।