दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदै
प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल हुँदैछ ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै पक्षबीच छलफल हुने भएको हो ।
यसअघि मंसिर २ गते सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि आजको मिति तोकेको थियो । साथै सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने र मनोजकुमार केसीलाई नयाँ आइजिपी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।