पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले आफूलाई आईजीपीमा पुनर्बहाली गर्न र नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। साथै अन्तरिम आदेशबारे छलफल गर्न आज मंसिर ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो।
अब सर्वोच्चको आजको सुनुवाइपछि नवनियुक्त आईजीपी केसीको नियुक्ति तथा कामकाज रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषय टुंगो लाग्नेछ।