निवर्तमान आईजीपी कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिट निवेदक र विपक्षी दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।
आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको दाबी गर्दै कार्की सरकारको निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालत पुगेका थिए ।
बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा अब सर्वोच्च अदालतको आदेश आउने प्रतीक्षा गरिएको छ ।