आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई नियुक्त गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न विपक्षी नेपाल सरकार, लुम्बिनी विकास कोषलगायतका नाममा आदेश जारी गरेको हो ।
साथै, नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि विपक्षीहरूलाई अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ ।
आनीको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्मा उपाध्यक्ष पदका लागि योग्य नरहेको दाबी गरिएको छ ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको वैधानिकतामाथि अब सर्वोच्च अदालतमा थप सुनुवाइ हुने भएको छ ।