जनकपुरधाम–अयोध्याबीच रेल सेवा सुरु, मोदी र बालेनले गरे संयुक्त उद्घाटन
प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गरेका हुन्।
‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
अयोध्याबाट जनकपुरधामसम्मको करिब ६०४ किलोमिटर दूरी रेलमार्फत करिब १९ घण्टामा पूरा हुनेछ। भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै सञ्चालन हुने रेलले जनकपुरधाम, जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर हुँदै अयोध्या धाम र अयोध्या क्यान्टसम्म सेवा दिनेछ।
रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ। जनकपुरधामबाट अयोध्या क्यान्ट जाने रेलको नम्बर १५५९५ र अयोध्या क्यान्टबाट जनकपुरधाम आउने रेलको नम्बर १५५९६ निर्धारण गरिएको छ।
निर्धारित तालिकाअनुसार जनकपुरधामबाट अयोध्या जाने रेल शनिबार दिउँसो १ः१० बजे प्रस्थान गरी आइतबार बिहान अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, अयोध्या क्यान्टबाट सोमबार साँझ ५ः५० बजे प्रस्थान गर्ने रेल मंगलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।
नेपालका रेल स्टेसनमा तोकिएका समय भारतीय समयभन्दा १५ मिनेट अगाडि हुने भएकाले यात्रुले स्थानीय समयअनुसार रेल तालिका हेर्नुपर्नेछ।
भगवान् रामको जन्मस्थल अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधामबीच रेल सेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउने विश्वास गरिएको छ। यसबाट धार्मिक पर्यटक, विद्यार्थी, व्यवसायी तथा आफन्त भेटघाटका लागि यात्रा गर्ने यात्रु लाभान्वित हुने अपेक्षा गरिएको छ।
यसअघि भारतबाट जनकपुरधाम आउन यात्रुले बिहारको जयनगरमा पुगेर सीमासम्बन्धी प्रक्रिया पूरा गरेपछि नेपालतर्फको रेल परिवर्तन गर्नुपर्ने व्यवस्था थियो। नयाँ सेवाबाट आवश्यक सीमासम्बन्धी जाँच पूरा गरी एउटै रेलमा यात्रा जारी राख्न सकिने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।