वीरगन्जसहित चार पालिका जोडेर नगर बस सञ्चालनको तयारी
वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर नगर बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। महानगरपालिकाले मङ्सिरभित्रै सेवा सुरु गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार वीरगन्ज, जितपुरसिमरा, कलैया र परवानीपुरलाई जोडेर सञ्चालन गरिने बस सेवाले अन्तरपालिका आवागमन सहज बनाउनेछ।
सेवालाई व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गरिने भएको छ। जसमा वीरगन्जले ४० लाख, जितपुरसिमराले ३० लाख, कलैयाले २५ लाख र परवानीपुरले पाँच लाख रुपैयाँ योगदान गर्नेछन्।
नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन पारित भइसकेको महानगरपालिकाले जनाएको छ। अब सञ्चालनसम्बन्धी कार्यविधि मङ्सिर ७ गतेभित्र तयार गरी पेस गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ।