कमला नदीमाथिको पुल सञ्चालनको तयारी अन्तिम चरणमा, दुई जिल्लाका बासिन्दालाई आवागमन सहज हुने
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । नदीको धार नियन्त्रण गरी पानीको बहाव पुलमुनिबाट गराउन सफल भएपछि पुललाई सडकसँग जोड्ने काम तीव्र पारिएको हो ।
हुलाकी राजमार्ग आयोजना निर्देशनालय, जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार सिरहातर्फ तटबन्ध निर्माण गरी नदीको धार परिवर्तन गरिएको छ । अहिले पुलको दुवैतर्फ माटो भर्ने र रेलिङ लगाउने काम भइरहेको छ । उक्त काम सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइनेछ ।
पुल सञ्चालनमा नआउँदा सिरहा र धनुषाका स्थानीयवासीले वर्षौंदेखि आवागमनमा समस्या भोग्दै आएका थिए । विशेषगरी वर्षायाममा नदीको बहाव बढ्दा डुङ्गाको सहारा लिनुपर्ने र जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता थियो ।
पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक कामकाजमा ठूलो राहत पुग्ने स्थानीयवासीको अपेक्षा छ । साथै कृषि उपज तथा स्थानीय उत्पादनको ढुवानी सहज हुने र किसान, व्यापारी तथा सर्वसाधारण लाभान्वित हुने विश्वास गरिएको छ ।