प्रधानमन्त्री शाह भारत भ्रमणमा जाँदै
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुई दिने भारत भ्रमणमा जाँदै छन्। उनी दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्। साथै विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेट हुनेछ।
भ्रमणमा हवाई प्रवेश मार्ग विस्तार, आर्थिक सहकार्य र विकास आयोजना मुख्य प्राथमिकतामा रहनेछन्। नेपालले भैरहवा, महेन्द्रनगरलगायत क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ।
यसैगरी, अयोध्या–जनकपुर रेलमार्ग, नेपाल प्रहरी एकेडेमी भवन, दार्चुलाको पुल तथा भैरहवा एकीकृत जाँच चौकीलगायत आयोजनाको उद्घाटन तथा शिलान्यास गर्ने तयारी छ। अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजनाको पनि शिलान्यास हुनेछ।
भ्रमणका क्रममा विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफल सकेर प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किनेछन्।