आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ । यसरी आज बिहीबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्नेछन् ।