देशभर बकर इद हर्षोल्लासका साथ मनाइयो
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ। पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो।
इस्लामिक पात्रोअनुसार दिल हिज्जाको १०औँ दिन मनाइने यस पर्वमा मुस्लिम समुदायले बिहान सामूहिक नमाज अदा गरी शुभकामना आदानप्रदान गरेका छन्। बकर इदमा अल्लाहप्रति समर्पणको प्रतीकस्वरूप धर्मले मान्यता दिएका जनावरको कुर्बानी दिने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार नबी इब्राहिमको आस्था र त्यागको सम्झनामा यो पर्व मनाइन्छ। कुर्बानी गरिएको मासु गरिब, आफन्त र परिवारबीच बाँड्ने चलन पनि रहेको छ।