खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि तिनाउ अस्पताल घेराउ
बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
अस्पतालका डाक्टरको लापरबाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।
सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् ।
घटनाबारे अस्पताल प्रशासनसँग पटक-पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।