पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमितको मृत्यु
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताएका छन्। उनले दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको जनाए। काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।
काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। डा. शाक्यले उनमा उच्च रक्तचापको समस्या रहेको जनाए। यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए।
मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ। आजै वीरगन्जमा पनि एक महिलासहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जसमा एकजनाको वीरगन्ज हेल्थ केयर, अर्कोको नायाराणी अस्पताल र अर्का एकजनाको काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।