बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा रहेका ६५० को नमूना संकलन
(बुटवल) एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका-८ जोलाहनपुरवाका ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
नेपालगन्ज-८ का ६० वर्षीया पुरुषमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि उनीसँग सम्पर्क भएका सोही वडामा पहिलो चरणको परीक्षणमा १५ जना र त्यसपछि ७ गरी २२ जनामा कोरोना संक्रमणभेटिएको थियो ।
उनीहरु सबैको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब परीक्षण गर्दा बुधबार ३४ जनाको र बिहीबार पनि ३४ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिए । बिहीबार संक्रमितको सम्पर्कमा रहेका थप १५२ जनासहित हालसम्म कूल ६५० जनाको नमूना संकलन गरिएको उनले बताए । संकलित नमूना मध्ये थप ३४ जनाको स्वाब परीक्षण भइरहेको र ११६ जनाको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।
नेपालगन्ज-८ स्थित अन्सारी मस्जिदका ६० वर्षीय मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पुरै टोल सिल गरेर पहिलो चरणमा ९० जनाको स्वाब संकलन गरिएको थियो । उक्त ९० स्वाब परिक्षण गर्दा २२ जनामा कोरोना भेटिएको थियो ।
दोस्रो चरणमा फेला परेका १५ जनाको कन्ट्याक्ट टे्रसिङ्ग गरी मंगलबार ५६ जनाको स्वाब संकलन गरिएको थियो ।