नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३२ करोडको कारोबार
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ अंकले घटेर २ हजार ६३५.३९ विन्दुमा झरेको हो ।
यस दिन कुल ३५४ वटा स्क्रिप्सको ४८ हजार २२९ पटक कारोबार भएको छ । उक्त कारोबारमा १ करोड ४२ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६७ वटाको सेयर मूल्य बढेको छ भने २०१ वटाको मूल्य घटेको छ । त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बजारमा समग्र गिरावट देखिए पनि युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ४.८८ प्रतिशतले वृद्धि भएको छ । यता एलएस होराइजन १२ म्युचुअल फण्डको मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको २३ करोड ९८ लाख ७६ हजार ७८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत परिसूचकतर्फ इन्भेस्टमेन्ट समूहबाहेक सबै समूहमा गिरावट आएको छ । ट्रेडिङ समूह १.५२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९३ प्रतिशतको गिरावट आएको छ । बढ्दोभन्दा घट्ने कम्पनीको संख्या उल्लेख्य रहेकाले बिहीबार समग्र सेयर बजारमा बिक्री चाप हाबी भएको देखिएको छ ।