दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न मन्त्री तिमिल्सिनाको निर्देशन
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरसम्बन्धी अन्तरक्रियामा उनले नागरिकलाई प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने बताए।
लामो समयदेखि सेवा विस्तारमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गर्दै उनले राजधानी काठमाडौंमै टेलिफोन सम्पर्कमा समस्या हुनु र उपभोक्ताले प्रतिबद्धताअनुसार इन्टरनेट गति नपाउनु गम्भीर विषय भएको बताए।
मन्त्री तिमिल्सिनाले अनुमतिपत्र तथा सम्झौतामा गरिएका प्रतिबद्धता पूरा नगर्ने र कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि प्रभावकारी कारबाही गर्न प्राधिकरणलाई आग्रह गरे। दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाए।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार सरकार, नियामक र सेवा प्रदायकको साझा जिम्मेवारी भएको बताए। उनले निर्देशन र निर्णयभन्दा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजामुखी कार्ययोजना आवश्यक रहेकोमा जोड दिए।