लगानीकर्ताको विश्वास बढाउन नीतिगत सुधार गर्छौँ : मन्त्री साह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित यूके–नेपाल बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री साहले नेपालमा लगानी आकर्षित गर्न अवसरसँगै विश्वास, नीतिगत स्थिरता, पारदर्शिता र समयमै निर्णय गर्ने व्यवस्था आवश्यक रहेको बताए ।
उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण तथा निर्यात सहजीकरणजस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । यसका लागि अर्थ मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।
मन्त्री साहले आगामी ३० देखि ९० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीले उठाएका प्रमुख सरोकार, लगानी प्रस्ताव र नियामक अवरोध पहिचान गरी समाधान गर्ने योजना पनि सुनाए ।
उनले लगानीकर्तालाई केवल लगानीकर्ताका रूपमा नभई दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्दै संयुक्त लगानी, प्रविधि साझेदारी र उत्पादनमूलक क्षेत्रमा सहकार्य गर्न आह्वान गरे ।
बेलायतमा रहेका नेपाली डायस्पोरालाई लगानी, विशेषज्ञता, नवप्रवर्तन र ज्ञान हस्तान्तरणमार्फत नेपाल र बेलायतका अर्थतन्त्रबीच सेतु बन्न पनि उनले आग्रह गरे ।
मन्त्री साहका अनुसार नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार, सेवा क्षेत्र र पर्यटनमा नेपाल–बेलायत सहकार्यका पर्याप्त अवसर रहेका छन् ।