ट्रम्पले १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गरेका छन्।
प्रस्तावित शुल्कअनुसार चीनमाथि अधिकतम ४० प्रतिशत र भियतनाममाथि ३५ प्रतिशतसम्म कर लाग्नेछ। भारत, जापान, दक्षिण कोरिया, युरोपेली संघ, ताइवान, बंगलादेशसहितका देश तथा क्षेत्र पनि यसबाट प्रभावित हुनेछन्।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले ती देशका व्यापारिक नीतिले अमेरिकी उत्पादन क्षेत्रमा असर पारेको आरोप लगाउँदै नयाँ शुल्क प्रस्ताव गरेको हो। व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यसबाट अमेरिकी उद्योग र कामदारलाई समान प्रतिस्पर्धाको वातावरण बन्ने दाबी गरेका छन्।
यद्यपि अर्थशास्त्रीहरूले नयाँ भन्सार शुल्कले आयात लागत र मुद्रास्फीति बढाउनुका साथै उपभोक्तामाथि आर्थिक भार थप्न सक्ने चेतावनी दिएका छन्।
नयाँ शुल्क तत्काल लागू हुने छैन। सार्वजनिक परामर्श र सुनुवाइका प्रक्रिया पूरा भएपछि आगामी वर्षदेखि कार्यान्वयनमा आउन सक्ने बताइएको छ।