गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते
गोरखामा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार उक्त दुर्घटना भएको हो ।
गोरखाबाट पोखराका लागि छुटेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बसचालक पोखरा महानगरपालिका–३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ बढी घाइते भएका छन् । घाइते सबैको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।