पोखरामा युवकलाई लुटपाट गर्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ
पोखरामा एक युवकलाई गुण्डागर्दी शैलीमा जबर्जस्ती खानतलासी गरी लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा युवकलाई तीन जनाको समूहले जबर्जस्ती शरीर खानतलासी गरिरहेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा उक्त घटना २०८३ मंसिर ७ गते पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा भएको खुलेको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।
सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–८ जाल्पा रोड बस्ने ३६ वर्षीय यामु रानाभाट र वडा नम्बर ९ पृथ्वीचोक बसपार्क बस्ने २६ वर्षीय अर्जुन नेपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूलाई बुधबार पोखरा महानगरपालिका–६ स्थित अन्नपूर्ण गल्लीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले सार्वजनिक स्थानमा गुण्डागर्दी तथा आपराधिक गतिविधि गर्नेहरूमाथि निगरानी राखी कानुनी कारबाही अघि बढाइएको बताए ।