आज मोदीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन, रेल र पुल निर्माणबारे छलफल हुने
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसपछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तामा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन तथा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माणलगायत विषयमा छलफल हुने तयारी छ।
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्नेछन्। साथै, दुई देशबीच समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान गरी संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन्।
भ्रमणका सबै कार्यक्रम सकेर प्रधानमन्त्री शाह अपराह्न ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका थिए। भ्रमणकै क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।