उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी, जीर्ण भवनमा कष्टकर जीवन
उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ।
६० जनाको क्षमता रहेको जीर्ण कारागारमा हाल २३२ जना कैदीबन्दी राखिएका छन्। जसमा २१८ पुरुष र १४ महिला छन्। अत्यधिक चापका कारण खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको कारागार प्रशासनले जनाएको छ।
चार दशक पुरानो भवनका भित्ता र पर्खाल कमजोर हुनुका साथै वर्षायाममा छाना चुहिने समस्या छ। नयाँ भवन निर्माणको योजना एक दशकअघि नै स्वीकृत भए पनि बजेट अभाव र अन्य कारणले निर्माण अघि बढ्न सकेको थिएन।
चालु आर्थिक वर्षमा सरकारले निर्माणका लागि स्रोत सुनिश्चित गरे पनि ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन। प्रशासनले कैदीबन्दीको सुरक्षा र सहजताका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।