काँकरभिट्टा–लौकही सडक निर्माणमा अवरोध, समस्या समाधान गर्न प्रशासन सक्रिय
पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडक निर्माणमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय झापा सक्रिय भएको छ।
स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल स्थानान्तरणमा देखिएको समस्याले निर्माण प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गरेका छन्।
निर्माण कम्पनीका अनुसार डिजाइन परिवर्तनको माग, ओभरपास निर्माण, माटो तथा अन्य निर्माण सामग्रीको अभावले काममा ढिलाइ भइरहेको छ। प्रशासनले स्थानीय तह, जनप्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्ने जनाएको छ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको ९५ किलोमिटर सडकको पूर्वी खण्डमा हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। सम्झौता अवधि सकिन करिब तीन महिना बाँकी रहँदा निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सडक निर्माणलाई तीव्रता दिन र सुरक्षित आवागमनका लागि आवश्यक ट्राफिक व्यवस्थापन गर्न निर्माण कम्पनी तथा आयोजनालाई निर्देशन दिएका छन्।