एआईको सुरक्षित विकास र नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित र जिम्मेवार विकास तथा नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले एआईका बढ्दो शक्तिशाली प्रणालीबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए।
‘हामीलाई एआईको सुरक्षित र जिम्मेवार विकासलाई कसरी अगाडि बढाउने भन्नेबारे साझा समझदारी चाहिन्छ। बढ्दो शक्तिशाली प्रणालीलाई सुरक्षित राख्न र सम्भावित जोखिम व्यवस्थापन गर्न वास्तविक अन्तर्राष्ट्रिय सहयोग र समन्वित विश्वव्यापी प्रयास आवश्यक छ,’ उनले भने।
भूराजनीतिक विभाजनका कारण विश्वले एआई सुरक्षाका क्षेत्रमा अपेक्षित प्रगति गर्न नसक्ने जोखिम रहेको उनले चेतावनी दिए। एआईलाई सुरक्षित, पारदर्शी र जवाफदेही बनाउन विश्वास निर्माणसँगै आवश्यक अन्तर्राष्ट्रिय मार्गदर्शन आवश्यक रहेको उनको भनाइ छ।
‘विश्वले एआईको प्रभाव, जलवायु सङ्कट र असमानताजस्ता अस्तित्वगत चुनौतीको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय सहयोग पहिलेभन्दा बढी आवश्यक छ,’ गुटेरेसले भने।
संयुक्त राष्ट्रसङ्घका अनुसार एआईमा दिगो विकासलाई गति दिने, सिकाइ सुधार गर्ने, स्वास्थ्य प्रणाली सुदृढ बनाउने तथा जलवायु सङ्कट न्यूनीकरण गर्नेजस्ता क्षेत्रमा ठूलो सम्भावना छ। तर, यसको असुरक्षित प्रयोग बढ्दै जाँदा जोखिम पनि बढिरहेको भन्दै गुटेरेसले नियमन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।
एआईको विकास र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी मानव समझभन्दा प्रविधिको विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले एआई विकासको अग्रपङ्क्तिमा रहेका व्यक्तिहरूले उठाएका चिन्तालाई बेवास्ता गर्न नसकिने बताए।
सबै राष्ट्रले एआईबाट उत्पन्न हुन सक्ने जोखिमबाट आफ्ना नागरिकको सुरक्षा गर्न जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै गुटेरेसले त्यसका लागि विश्वव्यापी समन्वय आवश्यक रहेको बताए।
पृथक, अप्रमाणित तथा असमान रूपमा लागू गरिएका स्वैच्छिक उपायले एआईसँग सम्बन्धित जटिल चुनौती समाधान गर्न नसक्ने उनको चेतावनी थियो।