दक्षिणी लेबनानमा इजरायली आक्रमण, अरब सलिमका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी
इजरायली सेनाले हिजबुल्लाहले आफ्ना सैनिकलाई लक्षित गरी दुईवटा ड्रोन प्रहार गरेको दाबी गर्दै आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ।
सेनाका अनुसार दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’ मा तैनाथ इजरायली सैनिकतर्फ हिजबुल्लाहले दुई ड्रोन प्रहार गरेको थियो। घटनामा कुनै इजरायली सैनिक घाइते नभएको सेनाले जनाएको छ।
आक्रमणअघि इजरायली सेनाले अरब सलिम सहरका बासिन्दालाई क्षेत्र छाडेर सुरक्षित स्थानमा जान चेतावनी दिएको छ। सेनाले उक्त क्षेत्रमा हिजबुल्लाहको संरचना रहेको र त्यसविरुद्ध कारबाही अघि बढाइरहेको जनाएको छ।
हिजबुल्लाह र इजरायलबीचको संघर्षका कारण लेबनान लामो समयदेखि मध्यपूर्वको द्वन्द्वमा प्रभावित हुँदै आएको छ। इजरायली हवाई तथा स्थल आक्रमणबाट चार हजार तीन सयभन्दा बढी मानिसको मृत्यु भएको लेबनानको दाबी छ।
यसैबीच, लेबनानी अधिकारीहरूले शनिबार दक्षिणी तथा पूर्वी क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताएका छन्।