इरानमा इन्धन ट्यांकरले मिनीबसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु
इरानमा इन्धन ट्यांकरले मिनीबसलाई पछाडिबाट ठक्कर दिँदा भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
घटना शनिबार साँझ करिब ५ः३० बजे कुर्दिस्तान प्रान्तको सनन्दज सहरको प्रवेश नजिकै सनन्दज–हमदान राजमार्गमा भएको हो । करिब २० हजार लिटर पेट्रोल बोकेको इन्धन ट्यांकरले मिनीबसलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करपछि भएको विस्फोटमा दुवै सवारीसाधनमा आगलागी भएको थियो । घटनामा ट्यांकर र मिनीबसका चालकसहित ११ जनाको मृत्यु भएको हो ।
घटनापछि कुर्दिस्तानका गभर्नरले प्रान्तभर दुई दिनको सार्वजनिक शोक घोषणा गरेका छन् । कुर्दिस्तानका मुख्य न्यायाधीश मोहम्मद जब्बारीले दुर्घटनाको कारण पत्ता लगाउन मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको बताएका छन् ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाको सम्भावित कारण इन्धन ट्यांकरको ब्रेकमा आएको प्राविधिक खराबी देखिएको छ ।