फिलिपिन्सको विद्यालयमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु
दक्षिणी फिलिपिन्सको एक विद्यालयमा गोलीकाण्ड हुँदा दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु भएको छ भने आठ विद्यार्थी घाइते भएका छन्।
साउथ कोटाबाटो प्रान्तको बाङ्गा नेसनल हाईस्कुलमा शुक्रबार १६ वर्षीय विद्यार्थीले आफ्ना सहपाठीमाथि गोली चलाएका थिए। घटनामा १४ वर्षीय एक बालक र एक बालिकाको मृत्यु भएको साउथ कोटाबाटोका गभर्नर रेनाल्डो तामायोले बताएका छन्।
गोली चलाएपछि ती किशोरले आफैँलाई पनि गोली हानेको अधिकारीहरूले जनाएका छन्। घटनामा घाइते आठ विद्यार्थीको उपचार भइरहेको छ।
प्रहरीका अनुसार गोली चलाउन प्रयोग गरिएको हतियार किशोरका बुवाको थियो। उनले सुरक्षित बाकसमा राखेको हतियार बाकस तोडेर किशोरले निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले किशोरले अनलाइनमा गरेका केही पोस्टसमेत फेला पारेको जनाएको छ। ती पोस्ट र गोलीकाण्डबीच कुनै सम्बन्ध भए–नभएको तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।