डेनमार्कले उत्तरी सागरमा समुद्रमुनि कार्बनडाइअक्साइड भण्डारण सुरु गर्यो
डेनमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड (सीओ₂) भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ। ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सीसीएस) परियोजनाअन्तर्गत पुरानो तेल प्लेटफर्ममुनि कार्बनडाइअक्साइड भण्डारण सुरु गरिएको जनाएको छ।
आइएनइओएसका प्रमुख कार्यकारी डेभिड बकनलले ‘ग्रीन्स्यान्ड’ युरोपेली सङ्घ (इयु) को पहिलो पूर्ण क्षमताको कार्बनडाइअक्साइड भण्डारणस्थल भएको बताएका छन्। उनका अनुसार यस परियोजनाले युरोपभर यस्ता परियोजना विस्तारका लागि आधार तयार गर्नेछ।
डेनमार्कको पश्चिमी तटबाट करिब २०० किलोमिटर टाढा रहेको ग्रीन्स्यान्डको भण्डारणस्थल निनी वेस्टको पुरानो तेल प्लेटफर्ममुनि रहेको छ। परियोजनाको पहिलो चरणमा वार्षिक चार लाख टन कार्बनडाइअक्साइड भण्डारण गरिनेछ।
आइएनइओएसले सन् २०३० सम्ममा परियोजनाको भण्डारण क्षमता वार्षिक ४० लाखदेखि ८० लाख टनसम्म पुर्याउने योजना बनाएको छ। कार्बनडाइअक्साइड मुख्यतः डेनमार्कका बायोमिथेन उत्पादन केन्द्रबाट संकलन गरिनेछ। संकलित कार्बनडाइअक्साइडलाई तरलीकृत अवस्थामा एस्बेर्ज बन्दरगाहबाट जहाजमार्फत उत्तरी सागरस्थित भण्डारणस्थलमा पुर्याइनेछ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले सिमेन्ट तथा स्टिलजस्ता उद्योगबाट हुने कार्बन उत्सर्जन घटाउन कार्बन कब्जा तथा भण्डारण प्रविधिलाई उपयोगी उपायका रूपमा लिँदै आएका छन्। यद्यपि, यो प्रविधि जटिल र महँगो मानिन्छ।
युरोपेली सङ्घले नेट–शून्य उद्योग ऐनअन्तर्गत सन् २०३० सम्ममा वार्षिक कम्तीमा पाँच करोड टन कार्बनडाइअक्साइड भण्डारण गर्ने क्षमता विकास गर्ने लक्ष्य लिएको छ।
यसअघि छिमेकी नर्वेको ‘नर्दर्न लाइट्स’ परियोजनाले सन् २०२५ अगस्टमा समुद्रको पिँधमुनि रहेको चट्टानी तहमा कार्बनडाइअक्साइड भण्डारण सुरु गरेको थियो। इक्विनोर, शेल र टोटल इनर्जीको लगानी रहेको उक्त परियोजनाले सन् २०३० सम्ममा वार्षिक १५ लाखदेखि ५० लाख टनसम्म कार्बनडाइअक्साइड भण्डारण गर्ने क्षमता पुर्याउने योजना बनाएको छ।