केप भर्डेमा बस दुर्घटना, २१ जनाको मृत्यु
अफ्रिकी देश केप भर्डे को फोगो द्वीपमा शनिबार राति भएको भीषण बस दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार यात्रु बोकेको बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर गहिरो भिरमा खसेको थियो। दुर्घटना साओ फिलिपे नगरपालिकाअन्तर्गत चा दास काल्देइरास र क्याम्पानास दे सिमाबीचको सडकमा भएको हो।
दुर्घटनामा अधिकांश यात्रु युवा तथा विद्यार्थी रहेको बताइएको छ। मृतकमध्ये बस चालकसमेत रहेको स्थानीय समाचार संस्थाले जनाएको छ। राष्ट्रपति जोसे मारिया नेभेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।