बोलिभियाको सैन्य परिसरमा दुई विस्फोट, २ जनाको मृत्यु, ८१ घाइते
बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। घटनामा सात जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचाको सैन्य परिसरमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको हो। बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनुसार उक्त परिसरमा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो।
रक्षामन्त्री जस्टिनियानोले लगातार दुईवटा विस्फोट भएको पुष्टि गर्दै पहिलो विस्फोट भण्डारण गरिएको पाइरोटेक्निक सामग्रीका कारण भएको हुन सक्ने बताएका छन्। दोस्रो विस्फोटको कारण र त्यसमा प्रयोग भएको सामग्रीबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए।
रक्षा मन्त्रालयका अनुसार मृतक र बेपत्ता हुनेहरू सैन्य परिसरमा कार्यरत सैनिक हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ।
विस्फोटपछि सैन्य परिसरबाट बाक्लो कालो धुवाँ उठेको थियो। विस्फोटको प्रभाव आसपासका घरमा समेत परेको छ। केही घरका झ्याल फुट्नुका साथै छाना क्षतिग्रस्त भएका र विभिन्न स्थानमा भग्नावशेष छरिएको जनाइएको छ।
प्रहरीको प्रारम्भिक विवरणमा ५९ जना घाइते भएको बताइए पनि पछिल्लो सरकारी विवरणअनुसार घाइतेको सङ्ख्या ८१ पुगेको हो। घाइतेमध्ये ५२ जना सर्वसाधारण रहेको प्रारम्भिक प्रहरी प्रतिवेदनमा उल्लेख छ।
विस्फोटपछि अग्निनियन्त्रक र उद्धार टोली परिचालन गरिएको थियो। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने सुरक्षाका लागि विद्युत् आपूर्ति बन्द गरिएको छ। उद्धार तथा खोजी कार्यमा दर्जनौँ प्रहरी अधिकारी परिचालन गरिएको एएफपीले जनाएको छ।
बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, घाइते तथा प्रभावितप्रति समवेदना प्रकट गरेका छन्। उनले घटनाको पूर्ण, प्राविधिक र पारदर्शी अनुसन्धान गर्न निर्देशन दिएका छन्।
यसैबीच, वियाचा नगरका अधिकारीहरूले घटनाप्रति शोक व्यक्त गर्दै तीन दिनको शोक घोषणा गरेका छन्। रक्षा मन्त्रालयले विस्फोटमा सैन्य हतियार भने विस्फोट नभएको स्पष्ट पारेको छ। अहिले सरकारको प्राथमिकता घाइतेको उपचार, प्रभावित परिवारलाई सहयोग तथा बेपत्ताको खोजी र पहिचान गर्नु रहेको रक्षामन्त्री जस्टिनियानोले बताएका छन्।