मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर नजिकै रहेका सवारीसाधनमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
मियामी–डेड फायर रेस्क्युका प्रमुख रायद ‘रे’ जादाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट बाहिरिएपछि नजिकै रहेका गाडीहरूलाई ठक्कर दिएको थियो। ठक्करलगत्तै विमान र आसपासका क्षेत्रमा भीषण आगलागी भएको थियो। घटनापछि ठूलो संख्यामा उद्धार तथा दमकल टोली परिचालन गरिएको थियो।
दुर्घटनालगत्तै ६० भन्दा बढी उद्धार टोली घटनास्थलमा पुगेका थिए। उद्धारकर्मीहरूले दुर्घटनामा गाडीभित्र चेपिएका व्यक्तिहरूलाई बाहिर निकालेका थिए। विमानका पाइलटलाई समेत उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन्।
फ्लाइटराडार–२४ को तथ्यांकअनुसार दुर्घटनामा परेको बोइङ ७६७ मोडलको कार्गो विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको गतिमा रहेको थियो। विमान अवतरणपछि किन समयमा रोकिएन र धावनमार्गबाट कसरी बाहिरियो भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको मियामी प्रहरीले जनाएको छ।