चीनले नेपालसँग आपत्कालीन जलविज्ञान सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। नेपालमा पछिल्लो समय बाढी, पहिरो तथा हिमतालजन्य जोखिम बढिरहेका बेला उद्धार तथा विपद् राहत प्रयासलाई प्रभावकारी बनाउन आवश्यक जलविज्ञान तथा मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनले जनाएको हो।
चिनियाँ दूतावासका अनुसार दुई देशबीच हुने सूचना आदानप्रदानमा नदीमा बनेका अवरोध, हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम तथा जलप्रवाहसँग सम्बन्धित अवस्थाबारेका सूचनासमेत समावेश हुनेछन्। यस्ता सूचनाले सम्भावित जोखिमको पूर्वानुमान गर्न तथा प्रभावित क्षेत्रमा समयमै उद्धार र राहतका काम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनको मौसमसम्बन्धी निकायले केरुङ–रसुवा सीमानामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा मौसमको प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। विशेषगरी विपद्को समयमा मौसमको अवस्था, वर्षाको सम्भावना तथा त्यसबाट पर्न सक्ने प्रभावबारे नेपाललाई आवश्यक जानकारी उपलब्ध गराइएको चीनको भनाइ छ।
विपद् घटेलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो। नेपालमा उद्धार तथा राहत कार्य सञ्चालन भइरहेका बेला मौसमको अवस्थाबारे नियमित जानकारी आदानप्रदान गरी आवश्यक सहयोग उपलब्ध गराउँदै आएको चिनियाँ पक्षले जनाएको छ।
चीनले आगामी दिनमा पनि नेपालको विपद् व्यवस्थापन तथा उद्धार प्रयासमा मौसम र जलविज्ञानसम्बन्धी सूचना तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने जनाएको छ। यस्तो सहकार्यले सीमावर्ती क्षेत्रमा बाढी, पहिरो तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमको पूर्वचेतावनी र विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।