इरानविरुद्धको युद्धमा ७५० अमेरिकी सैनिक घाइते भएको तथ्यांक सार्वजनिक
काठमाडौं — इरानविरुद्ध युद्ध सुरु भएयता ७५० जना अमेरिकी सैनिक घाइते भएको नयाँ तथ्यांक सार्वजनिक भएको छ।
अमेरिकी रक्षा मन्त्रालयको डिफेन्स क्याजुअलिटी एनालाइसिस सिस्टम (डीसीएएस)ले यसअघि सार्वजनिक गरिएको विवरणमा थप ५० जना घाइते सैनिक समावेश गर्दै नयाँ तथ्यांक सार्वजनिक गरेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ।
यसअघि युद्धका क्रममा १८ जना अमेरिकी सैनिकको मृत्यु भएको विवरण सार्वजनिक भइसकेको थियो। सीएनएनका अनुसार ‘ओभरसिज अपरेसन्स’ र ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गतका सैन्य कारबाहीमा भएको मृत्यु तथा घाइतेको विवरण डीसीएएसले सार्वजनिक गरेको हो।
अमेरिकी रक्षा मन्त्रालयले गत महिना डीसीएएसमा ‘ओभरसिज अपरेसन्स’ नामको छुट्टै श्रेणी थपेको थियो। उक्त श्रेणीमा जुलाई ७ देखि मृत्यु भएका तथा घाइते भएका अमेरिकी सैनिकको विवरण राखिएको छ। यद्यपि पेन्टागनले यो श्रेणी कुन द्वन्द्वसँग सम्बन्धित हो भन्नेबारे थप स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।
अमेरिकी सैनिकको हताहतीसम्बन्धी तथ्यांक यसअघि पनि विवादमा परेको थियो। गत महिना इरानका आक्रमण जारी रहेकै बेला पेन्टागनको तथ्यांकबाट मृतक तथा घाइते सैनिकको संख्या अचानक घटाइएको भन्दै आलोचना भएको थियो।
त्यस क्रममा चार मृतक सैनिकसहित दर्जनौँ घाइतेको विवरण केही समयका लागि तथ्यांकबाट हटाइएको थियो। रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत संख्या घट्नुको कारण प्राविधिक समस्या भएको जनाएको थियो।
पछि मृतक अमेरिकी सैनिकको संख्या पुनः १८ कायम गरिएको थियो। पछिल्लो विवरणसँगै इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकी सैनिकको हताहतीसम्बन्धी तथ्यांक फेरि चर्चामा आएको छ।