इरान युद्धपछि अमेरिकासँग इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घटेको दाबी
वासिङ्टन — इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गरेको इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार घटेको एक अध्ययनले देखाएको छ।
युद्धशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक अध्ययनमा प्रतिष्ठित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (CSIS)को प्रतिवेदनअनुसार अमेरिकासँग हाल करिब एक हजार आसपास इन्टरसेप्टर क्षेप्यास्त्र मात्र बाँकी रहेको दाबी गरिएको छ।
प्रतिवेदनअनुसार अमेरिकी हतियार भण्डारमा अहिले ७५९ देखि ८२७ वटा पेट्रियट क्षेप्यास्त्र बाँकी छन्। इरान युद्ध सुरु हुनुअघि अमेरिकासँग यस्ता करिब २ हजार ३३० वटा क्षेप्यास्त्र रहेको उल्लेख गरिएको छ।
त्यस्तै, अमेरिकासँग थर्मल हाइ अल्टिट्युड एरिया डिफेन्स (THAAD) क्षेप्यास्त्रको संख्या पनि घटेको जनाइएको छ। युद्धअघि ४५२ वटा रहेको थाड क्षेप्यास्त्र अहिले २३४ देखि २७८ वटा मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
पेट्रियट प्रणाली छोटो दूरीका क्षेप्यास्त्र, ड्रोन र लडाकु विमान रोक्न प्रयोग गरिन्छ भने थाड प्रणाली मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र निस्तेज पार्न प्रयोग हुने गर्छ।
प्रतिवेदनका अनुसार लकहिड मार्टिनले वार्षिक करिब १०० वटा थाड क्षेप्यास्त्र उत्पादन गर्दै आएको छ भने रेथियन र लकहिड मार्टिनले करिब ६०० वटा पेट्रियट क्षेप्यास्त्र उत्पादन क्षमता राख्छन्।