इरानी धम्कीपछि ट्रम्पलाई गोप्य रूपमा सैन्य विमानबाट बेलायत लगिएको खुलासा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट हत्या गर्ने धम्की आएपछि टर्कीबाट बेलायत फर्कने क्रममा गोप्य रूपमा सानो सैन्य विमानमार्फत यात्रा गराइएको खुलासा भएको छ।
‘द वासिङ्टन पोस्ट’का अनुसार ट्रम्पले सार्वजनिक रूपमा पुरानो एयरफोर्स वनमा चढे पनि केही समयपछि क्याटरिङ गाडीमार्फत उनलाई गोप्य रूपमा सी–३२ए सैन्य विमानमा पुर्याइएको थियो। उक्त विमानले ट्रम्पलाई लिएर बेलायततर्फ उडेको थियो।
सुरक्षाका कारण ट्रम्प सवार विमानबारे पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीलाई समेत वास्तविक जानकारी नदिइएको जनाइएको छ। उडानका क्रममा पत्रकारलाई झ्यालका शेड बन्द गर्नसमेत भनिएको थियो।
सी–३२ए ट्रम्प सवार पुरानो एयरफोर्स वनभन्दा केही मिनेटअघि बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा पुगेको थियो। राष्ट्रपति सुरक्षाका लागि वास्तविक विमानको पहिचान गोप्य राख्ने यस्तो उपाय यसअघि पनि अमेरिकी राष्ट्रपतिहरूको यात्रामा अपनाइएको बताइएको छ।
यसैबीच, कतारले अमेरिकालाई दिएको नयाँ बोइङ ७४७–८ विमानको सुरक्षा क्षमतामाथि पनि प्रश्न उठेको छ। ह्वाइट हाउसले भने ट्रम्पको सुरक्षाका लागि विमानमा आवश्यक विशेष व्यवस्था गरिएको दाबी गरेको छ।