बाब अल–मन्देबमा हुथी आक्रमण, ६ जनाको मृत्यु
यमनको बाब अल–मन्देब स्ट्रेट क्षेत्रमा इजिप्टको स्वामित्वमा रहेको मालवाहक जहाज तिहामाहमाथि हुथी विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा १० जना घाइते भएका छन्।
यमनी यातायात मन्त्रालयका अनुसार हुथीहरूले जहाजमाथि तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए। आक्रमणपछि जहाजमा आगलागी हुँदा ठूलो क्षति पुगेको थियो। मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ।
उद्धारका क्रममा समेत अर्को मिसाइल प्रहार हुँदा दुई सैनिकको मृत्यु भएको जनाइएको छ। यमन सरकारले आक्रमणको निन्दा गर्दै हुथीविरुद्ध निर्णायक कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।
हुथी समूहले घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। तर हुथी नियन्त्रित सञ्चारमाध्यमले बाब अल–मन्देबमा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरिएको दाबी गरेको छ। क्षेत्रमा युद्धविराम कमजोर बन्दै गएसँगै पछिल्लो घटनाले यमनमा तनाव थप बढाएको छ।