दक्षिण सुडानमा शान्तिरक्षकको गस्तीमाथि आक्रमण, दुई इथियोपियाली शान्तिरक्षकको मृत्यु
जुबा — दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि भएको सशस्त्र आक्रमणमा दुई इथियोपियाली शान्तिरक्षकको मृत्यु भएको छ। घटनाको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कडा निन्दा गरेका छन्।
महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सोमबार अज्ञात सशस्त्र समूहले संयुक्त राष्ट्रसङ्घीय मिसन इन साउथ सुडान (युएनएमआइएसएस) को गस्तीमाथि आक्रमण गरेको हो।
आक्रमणमा तीन इथियोपियाली शान्तिरक्षक, दुई दक्षिण सुडानी प्रहरी कर्मचारी र युएनएमआइएसएसका दुई नागरिक कर्मचारी गरी सात जना घाइते भएका छन्।
महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकविरुद्ध जानाजान गरिने आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनअनुसार युद्ध अपराध मानिन सक्ने बताएका छन्। उनले घटनाको तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।
गुटेरेसले मृतक शान्तिरक्षकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, पीडित तथा उनीहरूका परिवारलाई कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
दक्षिण सुडानमा पछिल्लो समय सुरक्षा चुनौती बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका कर्मचारीमाथि भएको यस आक्रमणले शान्ति स्थापनाका प्रयासमा थप चुनौती खडा गरेको छ।