जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार रेल कर्मचारीको मृत्यु
काठमाडौं — जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको छ। दुर्घटना टोकियोको उत्तरमा रहेको कानुमा सहरस्थित शिन–कानुमा स्टेसनमा भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार रेलमार्ग आसपासको झारपात हटाउने क्रममा रहेका कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको थियो। अग्नि नियन्त्रक विभागका अधिकारीलाई उद्धृत गर्दै एएफपीले दुर्घटनामा घाइते भएका चारै कर्मचारीको मृत्यु भएको जनाएको छ।
आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा भेटिएका थिए भने एक जना रेलमार्गमा लडेको अवस्थामा थिए। जिजी प्रेसका अनुसार मृतक चारै जना पुरुष हुन् र उनीहरू ५० देखि ६० वर्ष उमेर समूहका थिए।
दुर्घटनामा रेलमा सवार करिब ५० यात्रुमध्ये कसैलाई पनि चोटपटक नलागेको बताइएको छ। छवटा डिब्बा रहेको उक्त रेल ‘टोबु निक्को लाइन’मा सञ्चालन हुने ‘स्पेसिया एक्स’ एक्सप्रेस रेल थियो। उक्त रेलले टोकियोलाई तोचिगी क्षेत्रको पर्यटकीय गन्तव्य निक्कोसँग जोड्छ।
रेल सञ्चालकलाई उद्धृत गर्दै जापानी समाचार संस्था एनएचकेले टोकियोतर्फ गइरहेको रेल शिन–कानुमा स्टेसनमा रोकिने क्रममा दुर्घटना भएको जनाएको छ। रेलमा सवार यात्रुले ठूलो गडगडाहटको आवाज सुनेपछि रेल अचानक रोकिएको बताएका छन्।
दुर्घटनापछि केही समयसम्म यात्रुलाई रेलबाट बाहिर निस्कन दिइएको थिएन। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेका कर्मचारीहरू रेलमार्ग वरपरको झारपात हटाउने सात सदस्यीय टोलीका सदस्य थिए।
दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान थालेको छ।
उच्चस्तरीय मर्मतसम्भार, नियमित तालिम तथा आधुनिक प्रविधिको प्रयोगका कारण जापानको रेल सेवा विश्वकै सुरक्षितमध्ये मानिन्छ। त्यसैले रेलसम्बन्धी प्राविधिक कारणबाट हुने घातक दुर्घटना जापानमा तुलनात्मक रूपमा दुर्लभ मानिन्छ।
यस शताब्दीमा जापानमा भएको सबैभन्दा घातक रेल दुर्घटना सन् २००५ मा भएको थियो। अमागासाकीमा यात्रुवाहक रेल लिकबाट बाहिरिएर अपार्टमेन्ट भवनमा ठोक्किँदा १०७ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए।
त्यसअघि सन् १९६३ मा मालवाहक रेल र दुई यात्रुवाहक रेलबीच भएको दुर्घटनामा १६१ जनाको मृत्यु भएको थियो। यता, सन् १९६४ मा सेवा सुरु भएयता जापानको ‘सिन्कान्सेन’ बुलेट रेल सञ्जालमा रेल लिकबाट खस्ने वा आपसमा ठोक्किने घटनामा कुनै यात्रुको मृत्यु भएको छैन।