इंग्ल्यान्डका फुटबल महानायक केभिन कीगनको निधन
इंग्ल्यान्डका महान फुटबलर तथा पूर्व प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन भएको छ। केही महिनाअघि उनलाई चौथो चरण (स्टेज–४) को क्यान्सर भएको पुष्टि भएको थियो र उपचार सुरु गर्ने तयारीमा रहेका बेला उनको निधन भएको हो।
उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ हामी केभिन कीगनको ७५ वर्षको उमेरमा निधन भएको जानकारी गराउँछौं। क्यान्सरसँग संघर्ष गरिरहेका उहाँले अन्तिम क्षणमा श्रीमती र दुई छोरीको साथ पाउनुभएको थियो।’
परिवारले कीगनलाई दुई पटकका बालोन डी’ओर विजेता, आदर्श पति, पिता र हजुरबुबाका रूपमा स्मरण गर्दै उपचारमा सहयोग गर्ने चिकित्सक टोलीप्रति आभार व्यक्त गरेको छ। साथै शोकको यस घडीमा गोपनीयताको सम्मान गर्न पनि आग्रह गरेको छ।
इंग्ल्यान्ड फुटबल संघले सेप्टेम्बरमा वेम्ब्ली रंगशालामा स्पेनविरुद्ध हुने यूईएफए नेसन्स लिग खेलअघि कीगनप्रति विशेष श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ।