बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर
निट प्रश्नपत्र बाहिरिएको मामला र लाठीचार्जविरुद्ध शनिबार भारतभर विद्यार्थीको प्रदर्शन जारी छ। यसै क्रममा आह्वान गरिएको बिहार बन्दका क्रममा पटना र सीवानसहित ८ जिल्लामा विद्यार्थीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।
सीवानमा भएको ढुङ्गामुढाबाट प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन्। आक्रमणपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै करिब १० राउन्ड गोली चलाएको छ। छपरामा विद्यार्थीले प्रहरीको गाडीमा आगो लगाइदिएका छन्।
प्रदर्शनकारीहरूले सरकारी भवनमा चढेर पोस्टर च्यात्नुका साथै ब्यारिकेडिङ नै लिएर भागेका थिए। सडकमा ठुलो सङ्ख्यामा प्रदर्शनकारी ओर्लिएका कारण न्यायाधीशको गाडीसमेत रोकिएको थियो।
पटनामा प्रदर्शनमा सहभागी भएका पूर्वमन्त्री तेजप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीतामढीमा भएको ढुङ्गामुढामा महिला प्रहरी निरीक्षक (एसआई) सहित १२ जना घाइते भएका छन्। भागलपुरमा लाठीचार्जपछि प्रहरीले नै ज्यान बचाएर भाग्नुपरेको छ।
बिहारबाहेक उत्तर प्रदेशका प्रयागराज, लखनउ र सहारनपुरसहित धेरै सहरमा प्रदर्शन भइरहेका छन्। मध्यप्रदेशका २० भन्दा बढी सहरमा विरोध प्रदर्शन जारी छ। इन्दौरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि ड्रोनबाट निगरानी राखिइरहेको छ।