भारतमा सुरुङभित्र मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु
काठमाडौं, ६ साउन — उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना अझै सुरुङभित्र फसेको आशंका गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोट हुँदा सुरुङभित्र २५ जना कार्यरत थिए। वरिष्ठ प्रहरी अधिकारी सोनम डी. भुटियाले २० जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने बाँकी पाँच जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले निर्माण गरिरहेको करिब सात किलोमिटर लामो सुरुङभित्र चट्टानमा रहेको मिथेन ग्यास अचानक विस्फोट हुँदा दुर्घटना भएको हो। घटनाका बेला एनएचपीसीका उच्च तहका कर्मचारीसमेत नियमित निरीक्षणमा रहेको जनाइएको छ।
एनएचपीसीका अनुसार विस्फोटपछि सुरुङभित्र बाक्लो धुवाँ र विषाक्त ग्यास फैलिएको थियो, जसका कारण कामदारहरू प्रभावित भएका हुन्।
कम्पनीले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको छ।