बर्लिन ‘प्राइड’ उत्सवमा भ्यान आक्रमण, एकको मृत्यु, १६ घाइते
बर्लिन: जर्मनीको राजधानी बर्लिनमा आयोजित समलिङ्गी तथा तेस्रोलिङ्गी समुदायको ‘प्राइड’ उत्सवलाई लक्षित गरी भएको भ्यान आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा फरार २१ वर्षीय संदिग्ध अब्दुल बी.को खोजीका लागि जर्मन प्रहरीले पक्राउ पुर्जी जारी गर्दै व्यापक खोजी अभियान सञ्चालन गरेको छ।
प्रहरीका अनुसार शनिबार राति करिब १० बजे एउटा सेतो भ्यान टियरगार्टेन पार्कमा प्रवेश गरी उत्सवमा सहभागीहरूलाई ठक्कर दिँदै अघि बढेको थियो। भ्यान अन्ततः एउटा रुखमा ठोक्किएर रोकिएको थियो। घटनाका क्रममा केही मानिसमाथि चक्कु प्रहारसमेत भएको प्रहरीले जनाएको छ।
बर्लिनको दमकल सेवाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था अत्यन्त गम्भीर रहेको छ भने आठ जना गम्भीर र पाँच जना सामान्य घाइते भएका छन्।
प्रहरीले संदिग्ध हतियारसहित खतरनाक हुन सक्ने भन्दै सर्वसाधारणलाई प्रत्यक्ष सम्पर्कमा नआउन आग्रह गरेको छ। प्रहरीका अनुसार संदिग्ध बर्लिनस्थित इस्लामिक वृत्तसँग सम्बन्धित व्यक्ति रहेको र सुरक्षा निकायको निगरानी सूचीमा पहिलेदेखि नै रहेको थियो।
प्रहरी प्रवक्ता फ्लोरियन नाथले घटनाको उद्देश्य अझै स्पष्ट नभएको बताउँदै संदिग्धको खोजीलाई तीव्र बनाइएको जानकारी दिए। आइतबार बिहान शोनेबर्ग जिल्लास्थित एक अपार्टमेन्टमा खानतलासी गरिए पनि संदिग्ध फेला नपरेको प्रहरीले जनाएको छ।
घटनापछि बर्लिनभर सुरक्षा सतर्कता बढाइएको छ भने प्रहरीले फरार संदिग्धको खोजीलाई निरन्तरता दिएको छ।