संयुक्त राष्ट्रसंघको महासचिव चयन प्रक्रिया सुरु, छ उम्मेदवार पहिलोपटक सार्वजनिक बहसमा
संयुक्त राष्ट्रसंघको आगामी महासचिव चयन प्रक्रिया औपचारिक रूपमा सुरु हुनुअघि छ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन्।
९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसंघका कर्मचारी र नागरिक समाजका प्रतिनिधिका प्रश्नको जवाफ दिनेछन्। वर्तमान महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा चिली, इक्वेडर, अर्जेन्टिना, कोस्टारिका, गुयाना र सेनेगलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
आगामी जुलाई ३० मा सुरक्षा परिषद्ले पहिलो गोप्य ‘स्ट्र पोल’ मतदान गर्नेछ। आवश्यक समर्थन र स्थायी सदस्य राष्ट्रहरूको भिटो नपाएपछि मात्र उम्मेदवारको नाम महासभामा अनुमोदनका लागि पठाइनेछ।
नयाँ महासचिवले सन् २०२७ जनवरी १ देखि कार्यभार सम्हाल्नेछन्। यसपटक ल्याटिन अमेरिकी क्षेत्रबाट नेतृत्व चयन हुने अपेक्षा गरिएको छ भने संयुक्त राष्ट्रसंघको इतिहासमै पहिलो महिला महासचिव बन्न सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।