ट्रम्पले साउदीसँग नागरिक आणविक ऊर्जा सम्झौता स्वीकृत गरे
काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्ने सम्झौता स्वीकृत गरेका छन्।
एपीका अनुसार प्रस्तावित सम्झौताअन्तर्गत साउदी अरेबियाले भविष्यमा आफ्नै भूमिमा युरेनियम प्रशोधन गर्ने क्षमता प्राप्त गर्न सक्ने व्यवस्था रहनेछ। सार्वजनिक रूपमा बोल्न नपाउने दुई स्रोतलाई उद्धृत गर्दै सम्झौताको औपचारिक घोषणा बुधबार हुन सक्ने जनाइएको छ।
करिब ३० वर्षका लागि प्रस्तावित उक्त सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदीको नागरिक आणविक ऊर्जा कार्यक्रम विकासमा सहकार्य गर्नेछन्। संयुक्त अध्ययनपछि साउदीमा युरेनियम प्रशोधन केन्द्र निर्माणको सम्भावना पनि सम्झौतामा समेटिने बताइएको छ।
तर, सम्झौता अमेरिकी कंग्रेसको समीक्षा र स्वीकृतिमा जाने भएकाले विरोध हुन सक्ने अनुमान गरिएको छ। अमेरिकी सांसद तथा आणविक अप्रसार विज्ञहरूले साउदीलाई युरेनियम प्रशोधनको अनुमति दिँदा भविष्यमा आणविक हतियार प्रतिस्पर्धा बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
स्रोतहरूका अनुसार प्रस्तावित सम्झौतामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को अतिरिक्त निगरानीसम्बन्धी ‘एडिसनल प्रोटोकल’ समावेश नहुन सक्ने सम्भावना छ। यसले निरीक्षण र प्रमाणीकरणको दायरा सीमित हुने भन्दै आलोचना हुन सक्ने बताइएको छ।
अमेरिका र इजरायलले इरानको आणविक क्षमताविरुद्ध अभियान चलाइरहेको समयमा साउदीसँगको यो सम्भावित सम्झौता सार्वजनिक हुन लागेको हो। यसअघि जो बाइडेन प्रशासनले पनि साउदीको नागरिक आणविक ऊर्जा क्षेत्रमा अमेरिकी प्रविधि उपलब्ध गराउने विषयमा छलफल अघि बढाएको थियो।