जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी
दक्षिणपश्चिमी जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ।
क्युशु टापु केन्द्रबिन्दु भएर गएको भूकम्पपछि करिब एक मिटर उचाइसम्मको सुनामी आउन सक्ने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार केही क्षेत्रमा साना छालहरू देखिन थालिसकेका छन्।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्प प्रभावित देशमध्ये एक हो, जहाँ हरेक वर्ष सयौँ भूकम्प आउने गर्छन्।
सन् २०११ मा जापानमा गएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो। यसपटकको भूकम्पपछि अधिकारीहरूले सतर्क रहन र तटीय क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।