सगरमाथा आधार शिविर क्षेत्रमा हराइरहेका शेर्पा जीवितै उद्धार
सोलुखुम्बु, २१ जेठ २०८३ — सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्।
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल मा भर्ना गरिएको छ।
हिउँमा लामो समय हराएपछि भेटिँदा उनका हातखुट्टा चिसोले प्रभावित भएको अवस्थामा रहेको बताइएको छ। उद्धार टोलीले उनलाई तत्काल प्राथमिक उपचार प्रदान गरी हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्याएको हो।
एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको यो घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।