सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको आह्वान
काठमाडौं, २२ जेठ — भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन रहेका निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान गरेको छ। त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार संघीय मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय निकायहरूलाई आफ्ना निकायमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा सकिएपछि हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक जानकारी राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न भनिएको छ।
त्यस्तै तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।