देशभर विपद् घटनामा ८६ जनाको मृत्यु, लेक लाग्ने र आगलागी प्रमुख कारण
काठमाडौं — चालू आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा देशभर विपद् घटनामा परी ८६ जनाको मृत्यु भएको छ भने ४७२ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार सो अवधिमा देशभर १ हजार ८ सय ४९ विपद् घटना दर्ता भएका छन्। ती घटनाबाट कुल २ हजार ४ सय ४८ परिवार प्रभावित भएका छन्।
तथ्याङ्कअनुसार सबैभन्दा बढी मानवीय क्षति लेक लाग्ने र आगलागीका घटनाबाट भएको छ।
लेक लाग्ने ४५ घटनामा १८ जनाको मृत्यु, २८ जना घाइते र ४४ परिवार प्रभावित भएका छन्।
त्यस्तै आगलागीका ६३६ घटनामा १५ जनाको मृत्यु, ७८ जना घाइते तथा ६८८ परिवार प्रभावित भएका छन्।
गर्मी तथा वर्षायाम सुरु भएसँगै चट्याङ र हावाहुरीका घटनामा पनि ठूलो क्षति देखिएको छ।
१४८ चट्याङका घटनामा १४ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्।
४०० हावाहुरीका घटनामा १३ जनाको मृत्यु, ५९ जना घाइते र १,१४९ परिवार प्रभावित भएका छन्।
त्यस्तै १७५ सर्पदंशका घटनामा ९ जनाको मृत्यु र १६६ जना घाइते भएका छन्।
वन्यजन्तुको आक्रमणबाट ७ जना, बाढी–पहिरोमा ६ जना, डुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना र हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मनसुन सक्रिय भएसँगै बाढी–पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम अझ बढ्न सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्राधिकरणले आधिकारिक सूचना र चेतावनीका लागि आफ्ना सामाजिक सञ्जालमार्फत अपडेटहरू पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ।