सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी सम्झौता
काठमाडौं, २१ जेठ २०८३ — ग्लोबल आइएमई बैंक लिमिटेड को अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजना का लागि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
आयोजनाको प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच भएको सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी को उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी तथा कम्पनीका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायतले हस्ताक्षर गरेका हुन्।
करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा बनेको बैंकिङ कन्सोर्टियमले १९ अर्ब रुपैयाँ लगानी गर्नेछ। कन्सोर्टियममा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
सम्झौतापछि सुरेन्द्रराज रेग्मीले आयोजना समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमता वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
फक्ताङलुङ गाउँपालिका स्थित तमोर नदीमा निर्माण हुने यो आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम बैंकहरूले र बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताले व्यवस्थापन गर्नेछन्।