२४ घण्टामा २५ विपद् घटना, ५ जनाको मृत्यु
काठमाडौं, २१ जेठ २०८३ — देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार जेठ २० गते बिहान १० बजेदेखि जेठ २१ गते बिहान १० बजेसम्म आगलागी, सर्पदंश, बाढी, पहिरो तथा हावाहुरीजस्ता घटनाले जनधनमा क्षति पुर्याएका हुन्।
सर्पदंशबाट रौतहट, बारा र कपिलवस्तुमा तीन जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–६ मा ७३ वर्षीया महिलाको सर्पदंशबाट मृत्यु भएको हो।
त्यस्तै, बाराको पचरौता नगरपालिका–४ मा १९ महिनाका बालकलाई सर्पले टोकेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
कपिलवस्तु नगरपालिकामा घरमै सुतिरहेको अवस्थामा १६ वर्षीया किशोरीलाई गोमन सर्पले टोकेपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यस्तै, रोल्पाको गङ्गादेव गाउँपालिका–६ रातमाटा मा विद्यालयबाट घर फर्किने क्रममा खहरे खोलाको भेलमा बगेर ६ र ७ वर्षका दुई बालकको मृत्यु भएको छ।
उक्त अवधिमा करिब ६३ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सर्पदंशबाट मोरङ, सिरहा, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरका आठ जनाको उपचार भइरहेको छ।
प्राधिकरणले वर्षायाम सुरु भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।